भक्तपुर – भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै नगरपालिका भित्र बाहिरी जिल्लाबाट आएका कसैलाई पनि प्रवेश गर्न नदिने भएको छ।
नगरपालिकालको बुधबार आकस्मिक रुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्दै बाहिरी जिल्लाबाट आएका कसैलाई पनि प्रवेश गर्न नदिने निर्णय गरेको हो।
बुधबार भएको निर्णय अनुसार कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा बस्न दिएको पाइएमा घरधनीलाई कारवाही पनि गरिनेछ।
बाहिरी जिल्लाबाट फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्ने उक्त बैठकको निर्णय छ।
मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारवाही गर्ने नगरपालिकाले निर्णय गरेको जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठले भने, “हामी जटिल अवस्थामा छौँ, यस्तो बेलामा सानो लापरवाहीले ठूलो नोक्सान हुनसक्छ, त्यसैले कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्छ ।”
यही २९ गते सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका करिब २० घरलाई प्रहरीले सिल गरेपछि नगरपालिकाले कडा निर्णय लिएको हो ।
ललितपुरको निदान अस्पतालमा कार्यरत नर्सलाई कोरोना सङ्क्रमण भएपछि मङ्गलबारबाटै टेकुस्थित आइसोलेन वार्डमा भर्ना गरिएको छ । थिमि शङ्खधर चोकमै बस्ने उनकी साथी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत एक नर्सको भने भक्तपुर अस्पतालमा बुधबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएर सोही अस्पतालको आइसोलेसनमा राखिएको छ ।
भक्तपुर कै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका एक प्रहरीलाई पनि कोरोना सङ्क्रमण भएको पाइएको थियो । उनको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमित प्रहरीका छोरासहित परिवारलाई पनि परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ । शङ्खधर चोकको सिल गरिएको बस्तीका बासिन्दाको पनि भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजेटिभ नदेखिएको केन्द्रले दाबी गरेको छ ।