वरिपरीका सबै जिल्लामा कोरोना देखिएपछि सिरहामा निषेधाज्ञा जारी !

–राजु विश्वकर्मा

लहान – प्रदेश नं २ मा कोरोना सङ्क्रमतिको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ ।

पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढ्ेकाले अर्काे सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए । सङ्क्रमण थप फैलिन नदिन यस्तो कदम चालिएको उनले बताए। केही दिनदेखि खुकुलो पारिएको लकडाउन आज बिहानदेखि कडा पारिएको छ ।

अर्काे जिल्लाबाट आउनेबिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रण लिई सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ । यस्तै छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई सङ्क्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।

सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ गुरागाईँले बताए । उनले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रदेश नं २ मा ९८ जना सङ्क्रमित

प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९८ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

हालसम्म प्रदेश नं २ मा तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको छ । जसमध्ये दुई हजार ६५६ को नेगेटिभ परिणाम आएको छ । ९८ जनाको पोजेटिभ परिणाम आएको छ भने एक हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

प्रदेश नं २ मा बढ्दै गएको सङ्क्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको भनाइ छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रक्रिया शुरु गर्नुपर्ने विज्ञहरुले बताएका छन् । प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा चार हजार १९८ श्यया क्षमता छ । जसमा हाल एक हजार ४६८ क्वारेन्टाइनमा छन् । चार हजार ५२२ होम क्वारेन्टाइनमा छन् भने आइसोलेसन बेडमा जम्मा ४० जना छन् ।

एक दम्पतीले बाँडे १२५ मजदुर परिवारलाई राहत

सरकारले गरेको लकडाउनको मारमा परेका सिरहाको लहान बजार क्षेत्रभित्रका १२५ विपन्न, गरिब तथा मजदुर परिवारलाई एक दम्पतीले आज बिहान राहत वितरण गरेका छन् । लहान निवासी महेश चौधरी र उनकी पत्नी सङ्गीता कर्माचार्यले लहान बजार क्षेत्रमा ठेला, रिक्सा, चियापसल तथा चटपटे पसल गरी जीवन गुजारा गर्दै आएका मजदुर, विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

लहानस्थित एपोलो ॐ स्कुलका सञ्चालक चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल, नुन र आलु र सोयविनलगायत सामग्री राहत स्वरुप वितरण गरेका छन् । लामो समयदेखि जारी लकडाउनका कारण मजदुरी बन्द हुँदा छाक टार्न समस्यामा परेका विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिएको चौधरीले बताए। ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक मजदुरी गरीखाने अतिविपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् ।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७०४:३१

काठमाडौंमा सबैको कोरोना परीक्षण गरिने !