काठमाडौँ – गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ।
बिहिबार मन्त्रालयमा उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहित बसेको बैठकले उपत्यकाभित्र लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको हो।
बैठकमा सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो। उपत्यकामा बाहिरी जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
बितेको २ दिनमा पाँच जनामा कोरोना संक्रमण देखिएको विषयलाई मध्यनजर गर्दै उपत्यकामा लकडाउन कडा बनाउने निर्णय गरिएको गृह मन्त्रालय श्रोतले जनाएको छ।
काठमाडौँ उपत्यका भित्रै आवत-जावत गर्न पाउने गरी जारी गरिएको पास समेत खारेज गर्ने गृहमन्त्रालयको निर्णय छ। यस अगाडी काठमाडौं उपत्यकालाई एउटै जिल्ला जस्तै मानेर निर्णय गर्गने रिएको भएपनि अब भने काठमाडौँ उपत्यका भित्रैका अन्य जिल्लामा आउ-जाउ गर्न पाइने छैन।
उपत्यकामा भोलि(शुक्रबार) बाटै लकडाउन कडा हुने बताइएको छ। यस्तै शनिबार बाट भने शनिबार जेठ ३ गतेदेखि जिल्लाभित्रै आवातजावत गर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेका सम्पूर्ण पासहरु रद्द हुनेछन्।
गृह मन्त्रालयले यस अगाडी नै निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्ने निर्णय गरिसकेको छ। गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ ।