भारतबाट भित्रिएका तीनमा कोरोना आरडिटी पोजेटिभ !

राँझा – बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ ।

जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आरडिटी पोजेटिभ देखिएका तीनै जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरी आजै भेरी अस्पतालको प्रयोगशालामा पुर्याइएको छ । सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई नेपालगञ्ज ल्याइएको छ । गए राति प्रवेश गरेका ६८७ नागरिकमध्ये बाँके र बर्दियाका २२१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अहिले परीक्षण गरिएको छैन ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी गए राति नेपाल प्रवेश गराइएको हो ।

सीमानाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएको र नेपालबाट करीब एक हजार चार सय भारतीयलाई भारत पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

बाँकेका कोरोना सङ्क्रमितलाई दाङ

बाँकेको नरैनापुरमा आज भेटिएका आठ कोरोना सङ्क्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइने भएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेशन अस्पताल सङ्क्रमितले भरिएपछि उनीहरुलाई दाङ पठाउन लागिएको हो ।

बिरामीलाई दाङ लैजान नेपालगञ्जबाट स्वास्थ्यकर्मीसहित एम्बुलेन्स नरैनापुर पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७११:५५

“कसैको भूमिमा सडक बनाएको छैन, लिपुलेकको विषयमा नेपाललाई कसैले उचाल्यो”