“कसैको भूमिमा सडक बनाएको छैन, लिपुलेकको विषयमा नेपाललाई कसैले उचाल्यो”

काठमाडौँ – नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा नेपालले विरोध जनाइरहेका बेला भारतीय सेना प्रमुख मनोज मुकन्द नरवानेले भारतीय भूमिमै सडक निर्माण भएको दावी गरेका छन्।

शुक्रबार भारतीय सेना प्रमुख नरवानेले पालले अर्कैको इसारामा लिपुलेकको विषयमा कुरा उठाएको लगाउँदै भारतीय भूमिमै सडक निर्माण भएको दावी गरेका हुन्।

कुनै देशको नाम नलिएपनि उनले लिपुलेकको विषयमा नेपाललाई अर्को देशले उचालेको आरोप लगाए। भारतीय थिंक ट्यांकले आयोजना गरेको वेविनारमा उनले सडक भारतीय भूमिमा बनेको हुँदा विरोध हुनु बेकार रहेको तर्क गरे।

नेपाली राजदूतले काली नदी पूर्वको भूभाग नेपालको रहेको बताएको उल्लेख गर्दै उनले त्यसमा कुनै दुविधा नरहेको बताए। साथै उनले सडक काली नदीको पश्चिममा बनेको स्पष्ट पारे।

“वास्तवमा नेपाली राजदूतले काली नदी पूर्वी क्षेत्र नेपालको हो भनेर उल्लेख गरेका छन्। त्यसमा कुनै विवाद छैन। हामीले बनाएको सडक नदीको पश्चिम तर्फ हो। त्यसैले पनि उनीहरुले के कुरामा विरोध जनाइरहेका छन् मलाई थाहा छैन।”,उनले भनेका छन्,”त्यसैले पनि यो विश्वास गर्न सकिन्छ कि उनीहरुले कसैको इसारामा यस विषयलाई उठान गरिरहेका छन्। र यो सम्भव पनि छ।” यस्तै यस विषयलाई गत साता लद्दाख पूर्व र उत्तरी सिक्किममा भएको घटनालाई समेत जोडेर हेर्नुपर्ने उनको भनाई छ।

केहि हप्ता अगाडी भारतले नेपाली भूमिमा बनाइएको सडक उद्घाटन गरेको थियो। जसपश्चात निरन्तर नेपालमा भारतको विरोध भइरहेको छ। सरकारले नेपाली भूमि मिचिएको कुरालाई कुटनीतिक तवरले समाधान गर्ने बताइरहँदा यस विषयलाई अन्तराष्ट्रियकरण गरिनुपर्ने माग उठिरहेको छ।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१२:२४

नीति तथा कार्यक्रम : बन्द भएका उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी !