कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै

बाँके/धनगढी – भारतबाट आउने नेपालीको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमण फैलने सम्भावना र त्रास चुलिएको छ । बाँकेमा भारतबाट फर्किएका आठ जनामा शुक्रबार कोरोना भएको पुष्टि भयो । त्यस्तै भारतबाट फर्किएर नेपालगन्ज सीमानजिकै दसगजा क्वारेन्टिनमा बसेका तीन जनाको आरडिटी परीक्षण गर्दा कोरोना पोजिटिभ आएको छ ।

पछिल्लो साता भारतबाट फर्केर आउने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय प्रशासनले दसगजानजिकै क्वारेन्टिनमा राख्ने गरेको छ । तर भारतबाट आउनेको संख्या एक्कासि बढेसँगै व्यवस्थापनमा चुनौती देखिएको छ । भारतबाट आउने नेपालीलाई उचित व्यवस्थापन गर्न नसके नेपालमा कोरोना संक्रमण थप बढ्ने निश्चित छ, यसले सीमाक्षेत्रका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा भएको पुष्टि भएको छ ।

भारतबाट आउने नेपाली राख्न स्थानीय निकायको बजेटले थेक्न नसक्ने बताउँछन् नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल । ‘भारतबाट आउनेको संख्या बढिरहेको छ । संक्रमण फैलिने सम्भावना बढेसँगै व्यवस्थापनमा समस्या भइरहेको छ,’ रिजाल भन्छन्, ‘उनीहरूलाई केही दिन क्वारेन्टिनमा राखेर परीक्षण गरेपछि सम्बन्धित स्थानीय निकायमा पठाउने गरेका छौं । तर भारतबाट अवैध रूपमा आउनेको संख्या पनि बढ्दो छ । यसले थप समस्या देखिएको छ ।’

नाका हुँदै बाँकेको नरैनापुर गाउँपालिकाका करिब पाँच सय स्थानीय आइपुगेका छन् । उनीहरूलाई अहिले स्थानीय प्रशासनले क्वारेन्टिनमा राखेर परीक्षण गरिरहेको छ । भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका आठ जनामा कोरोना पुष्टि भएसँगै स्थानीय निकायलाई थप चुनौती देखिएको छ ।

पछिल्लो साता बाँकेको जमुनाह नाकाहुँदै पछिल्लो साता करिब एक हजार नेपाली स्वदेश भित्रिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भारतबाट आएका चार सय ६६ जनाको आरडिटी परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरू कालिकोट, सुर्खेत र नुवाकोटका हुन् ।

बाँकेमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला भारतबाट आएका नेपालीमा पनि कोरोना संक्रमण देखिएपछि थप सचेत हुनुपर्ने बताउँछन् फोकल पर्सन श्रेष्ठ । भारतबाट आइरहेको नेपालीलाई व्यवस्थापन गर्न नसके थप समस्या आइपर्ने बताउँछिन् नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर ।

उनले भनिन्, ‘नेपालगन्ज भारतीय सिमानासँग जोडिएको छ । यसले नेपालगन्ज सधैं उच्च जोखिममा रहँदै आएको छ । भारतबाट आइरहेका नेपालीलाई परीक्षण गरेर सम्बन्धित जिल्ला पठाउन हामीले प्रयास गरिरहेको छौं । तर भारतबाट आउनेको संख्या बढिरहेकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ ।

बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार आठ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा ३३ जना संक्रमित पुगेका छन् । शुक्रबार संक्रमित पुष्टि भएका आठ जना नरैनापुर गाउँपालिकाका हुन् । उनीहरू सबै भारतबाट फर्किएका थिए । नरैनापुर भारतीय सिमानासँग जोडिएको गाउँपालिका हो, जहाँ सुरक्षाकर्मीलाई छलेर चोरबाटो हुँदै आउनेको संख्या धेरै छ ।

बाँकेको नरैनापुरमात्र होइन, भारतीय सीमासँग जोडिएका बाँके, बर्दिया, दाङ, रूपन्देही, कैलाली, कञ्चनपुरलगायत जिल्लामा भारतबाट घर फर्कने नेपालीको संख्या बढिरहेको छ । हरेक दिन भारतबाट फर्किरहेका नेपालीको भिड दसगजामा बढ्दो क्रममा छ ।

पुरनबहादुर सेन ठकुरीसँगै बिहीबार राति आठ बजे चार सय ६६ जना नेपाली भारतबाट दसगजा क्षेत्रमा आइपुगेका थिए । भारतको नानपारा र उत्तरप्रदेशका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका नेपालीलाई भारतीय प्रहरीले राति दसगजामा ल्याएर छोडेको थियो । अबेर राति नेपाल प्रवेश गरेका ठकुरीले नेपाली दूतावास, स्थानीय प्रशासनले आफूलाई अपमानित गरेको दुखेसो पोखे ।

भारतको बहराइच आइपुगेपछि बाँकेका सहायक सिडियोलाई फोन गरेको ठकुरीले बाँके प्रशासनले वास्ता नगरेको बताए । उनले भने, ‘मैले भारतमा हुँदा दूतावासका प्रतिनिधिलाई फोन गरे । उनले फोन नै उठाउन छोडे । हटलाइनमा फोन गर्दा उठ्दैन । हामीलाई भारतीय प्रहरीले गर्ने व्यवहार राम्रो छैन । नेपाली प्रशासनले पनि मानवीय व्यवहार गरेको छैन । दसगजामा शुद्ध पिउने पानीसमेत खाना पाएको छैनौं ।’

लकडाउन कारण भारतमा नेपालीहरूले आत्महत्यासमेत गर्ने गरेको ठकुरीले नागरिकलाई बताए । उनले भने, ‘नेपाली भनेपछि भारत सरकारले दिने सुविधा पनि पाइँदैन । भारतमा काम गर्न गएका नेपाली खाना नपाएर मर्नुपर्ने अवस्था आइसकेको छ ।’

प्रकाशित : शनिबार, जेठ ०३, २०७७०२:१२

चालू अधिवेशनबाटै एमसिसी पास गराउने रणनीति !