काठमाडौँ – शुक्रबार कोरोना संक्रमणको पुष्टि भएका दाङ तुलसीपुरका तीन जना मध्ये एक जना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षीय संक्रमित पुरुष लामो समय देखि काठमाडौँ बस्दै आएको र उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेको खुलेको बताइएको छ।
संक्रमित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेको खुलेपनि उनी स्वास्थ्यकर्मी हुन् अथवा कर्मचारी हुन् भन्ने बारे पूरा विवरण खुलिसकेको भने छैन।
शुक्रबार कोरोना पुष्टि भएका ती व्यक्ति दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिए पनि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी रहेको र उनी काठमाडौंमै रहेको बुझिएको छ। तुल्सीपुर उपमहानगपालिका मेयर घनश्याम पाण्डेले उनी तुल्सीपुरकै वासिन्दा भएपनि उनी काठमाडौँमै रहेको पुष्टि गरिसकेका छन्।
यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहिबार गरिएको पीसीआर परीक्षणबाट उनीमा कोरोनाको पुष्टि भएको थियो।
दाङमा भेटिएका अन्य दुई जना संक्रमितभने भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगर क्वारेन्टाइनमा बसेको खुलेको छ । उनीहरु कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।