एजेन्सी – कोरोना भाइरस संक्रमणको नयाँ केन्द्रविन्दुको रुपमा देखा परेको ब्राजिलमा एकै दिन १५ हजार भन्दा बढी संक्रमित फेला परेका छन्।
बितेको २४ घण्टामा मात्रै ब्राजिलमा १५ हजार ३ सय ५ जना कोरोना संक्रमित फेला परेका छन्। ब्राजिलमा एकै दिन यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो। बितेको २४ घण्टामा अमेरिका पछि सबै भन्दा धेरै संक्रमित ब्राजिलमै भेटिएका छन्।
ब्राजिलमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख १८ हजार २ सय २३ पुगेको छ। ब्राजिलमा बिगत १० दिन देखि दैनिक देखि १० हजार भन्दा बढी संक्रमित फेला परिरहेका छन्।
यस्तै ब्राजिलमा कोरोना भाइरस संक्रमणक कारण ज्यान गुमाउनेको संख्या १४ हजार ८ सय १७ पुगेको छ। बितेको २४ घण्टामा त्यहाँ ८ सय २४ जनाको ज्यान गएको छ। यो संख्या पनि अमेरिकापछि कै उच्च हो। ब्राजिलमा अहिले सम्म ८४ हजार ९ सय ७० जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
विश्वभर कोरोना
अहिले सम्म विश्वभर कोरोना संक्रमितको संख्या ४६ लाख २१ हजार ४ सय १४ पुगेको छ। विश्वभर बितेको २४ घण्टामा ९९ हजार ४ सय ५ संक्रमित थपिएका छन् भने ५ हजार ७२ जनाको ज्यान गएको छ। विश्वभरक कुल संक्रमित मध्ये १७ लाख ५५ हजार १ सय ५० निको भइसकेका छन्।