“कोरोना निको भएपनि किड्नी, फोक्सो देखि मुटु सम्मका समस्या”

एजेन्सी – चिनियाँ चिकित्सकहरूले कोरोना भाइरस संक्रमण निको भएका बिरामीहरूले धेरै लामो अवधि सम्म पनि विभिन्न स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले निर्देशिका जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण मानिसहरुमा हुन सक्ने दीर्घकालीन प्रभावहरू बारे विभिन्न चेतवानीहरु दिएको हो।

कोरोना भाइरस संक्रमणबाट बचेका मानिसहरुमा फोक्सो तथा मुटु सम्बन्धि समस्या हुन सक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको चेतवानी छ। निको भएका संक्रमितहरुमा मांसपेशीको क्षति, मनोवैज्ञानिक गडबडी लगायतमा समस्या पनि हुन सक्ने उसको चेतवानी छ।

कोरोना भाइरसले हल्का तथा मध्यम असर गरेका बिरामीहरुमा सामान्य प्रभाव देखा पर्ने भएपनि कोरोनाले सिथिल बनाएकाहरुमा भने गम्भीर समस्या देखा पर्न सक्ने बताइएको छ। कोरोनाको गम्भीर समस्या भोग्ने बिरामीहरूमा मुटुको एरिथिमिया वा एन्जाइना जस्ता अंगको क्षति समस्याले सताउन सक्ने हुँदा सचेत रहन आयोगले देशका चिकित्सकहरुलाई आग्रह गरेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको नयाँ सल्लाह अनुसार संक्रमण निको भएकाहरुमा डिप्रेसन, अनिद्रा, खाना-नरुच्ने, बढी रुच्ने, विभिन्न मानसिक र स्नायु सम्बन्धी समस्याहरु देखा पर्न सक्छ।

मेडिकल जर्नल किडनी इन्टरनेसनलमा प्रकाशित गरिएको एउटा छुट्टै अध्ययनले किड्नी विफलताको पछाडी कोरोना संक्रमणको पनि सम्बन्ध हुन सक्ने चेतवानी दिएको छ।

न्यु योर्कको ग्रेट नेकस्थित नर्थवेल स्वास्थ्य चिकित्सा केन्द्रमा कोरोनाको पुष्टि भएका ५ हजार ४४९ संक्रमितक माथि गरिएको अध्ययनका क्रममा ३ मध्ये १ जनामा किड्नी सम्बन्धि समस्या रहेको पाइएको छ। यस्तै कोरोना भाइरस पुष्टि भएका बाल-बालिकाहरुमा कावासाकी जस्तो लक्षणहरु – ज्वरो, दाग, रातो आँखा र ग्रन्थीहरु सुन्निने समस्या देखा परेको छ।

प्रकाशित : शनिबार, जेठ ०३, २०७७०५:४७

पातला मानिसहरुलाई भन्दा मोटालाई कोरोनाको जोखिम बढी !