विराटनगर – प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ ।
उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए।
उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उनी स्थलगत रिपोर्टिङ गरेका थिए । उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिए।
सङ्क्रमितसँग सम्पर्क भएकाको जाँच हुँदै
गलकोट नगरपालिकाबाट पर्सा गएका १४ मजदुरमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना जाँच हुँदैछ । ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा पत्ता लागेका १०९ जनाको स्वाब सङ्कन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार आइतबार साँझसम्ममा सबै जाँचको रिपोर्ट आउनेछ । क्वारेन्टाइनमै बसिरहेका ती मजदुरमा गलकोटबाट बस चढेर गएको १९ दिनपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नगरपालिकाले बस चढाइ पठाएका ८० मजदुरमध्ये १४ जनामा कोरोना देखिएको थियो ।
सबै मजदुर निर्माणका क्षेत्रमा काम गर्थे । शुक्रबार र शनिबार गरी चार वडामा स्वाब सङ्कलन गरिएको थियो । वडा नं ३ मा २६, ५ मा २९, ६ र ७ मा गरी ५५ जनाको स्वाब लिइएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए। जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सर्वसाधारणलगायत गरी १०९ जनाको स्वाब सङ्कलन गरिएको छ ।
जिल्लाबाट गएका मजदुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयवासीमा त्रास छाएको थियो । यद्यपि उनीहरुको सङ्क्रमणको स्रोतबारे केही थाहा हुनसकेको छैन । गत चैतमा भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भइ घर फर्केयता जिल्लामा थप सङ्क्रमित भेटिएका छैनन् । सङ्क्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । बन्दाबन्दीलाई झन् कडा तुल्याइएको छ ।