काठमाडौँ – धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक सुत्केरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि अस्पताल आसपास क्षेत्रमा सावधानी अपनाइएको छ।
धुलिखेलिस्थत ल्याबमा गरिएको परिक्षणका क्रममा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्राविसे नगरपालिका वडा नं. ९ निवासी महिलामा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ। अस्पतालका अनुसार इमर्जेन्सी वार्डका सम्पूर्ण नर्स तथा डाक्टरहरुलाई क्वारन्टाइनमा राखिएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ। अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएकी महिलामा कोरोनाको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले एक टोलि धुलिखेल पठाएको हो।
साथै धुलिखेल सिल गर्ने बारे छलफल गर्न अहिले कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टको बैठक पनि बसिरहेको छ। महिलाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि पोजेटिभ आएमा तत्काल धुलिखेल सिल गर्ने तयारी छ।
कोरोना भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएकी एक महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
उच्च ज्वरो तथा श्वास-प्रश्वासमा गार्हो भएपछि उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले स्वास्थ्य केन्द्रले उनलाई धुलिखेल अस्पताल रिफर गरेको थियो। आइसियुमा राखेर उपचार गर्नेक्रममा उनको अस्पतालमै मृत्यु भयो।