काठमाडौँ – बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ। उनको कोरोना भाइरस संक्रमणकै कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। ती महिलाको मृत्यु कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष रहेको स्वास्थ्य मन्त्रालयकाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको थियो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई बिहीबार धुलिखेल ल्याइएको थियो भने धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको थियो।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएको छ।
यस्तै नेपालमा थप दुई कोरोना संक्रमित थपिएका छन्। धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार कोरोनाको पुष्टि भएका थप दुवैजनाको स्वास्थ्य अवस्था समस्न्य रहेको बताइएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।