काठमाडौँ – २०१८ सालमा जनगनणाका लागि लिम्पियाधुर पुगेका वरिष्ठ पत्रकार भैरव रिसालले नेपाल भारतको सिमाना लिम्पियाधुरा नै रहेको दोहोर्याएका छन् । पत्रकार समाज नेपालले भारतले नेपालको लिपुलेक क्षेत्रमा गरेको अतिक्रमणको विरोधमा शनिबार आयोजित अनलाइन प्रवचनमा उनले कालीको मुहान लिम्पियाधुरा नै रहेको स्पष्ट पारे । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
नेपाल–भारत सिमाना लिम्पियाधुरा नै रहेकाले उक्त क्षेत्रका सम्पूर्ण भूभाग नेपालको नै रहेको उनले बताए । त्यसकारण ‘खुरुक्क आएका भारतीय सेना त्यहाँबाट खुरुक्क फर्किन’ उनले सुझाए । नेपाल–भारतबीच त्यस क्षेत्रमा रहेको सीमा विवाद निरन्तर चल्दै आएको र उक्त विवाद कूटनीतिक माध्यमबाट सल्टाउनुपर्नेमा उनले जोड दिए । भारत कूटनीतिक तवरले समस्या समाधान गर्न हिच्किचाइरहेकाले अब कूटनीतिक भाषा परिवर्तन गरी धर्ना दिनुपर्ने बताए । धर्नालाई पनि कूटनीतिक काम भनी परिभाषित गर्नुपर्ने उनको भनाइ छ । साथै ‘ह्यान्ड्स व्याक’ (हात पछाडि सार्नु) लाई पनि कूटनीतिक पहल नै हो भनी परिभाषित गरी त्यहीअनुसार भारतसँंग हात मिलाउन पनि छाड्नुपर्ने सुझाव उनको छ ।
सिमाविद् बुद्धिनारायण श्रेष्ठ भारतले नेपालमाथि जहिल्यै हेपाहा प्रवृत्ति राख्दै आएको भन्दै लिम्पियाधुरा नै नेपाल भारतको सीमा रहेको दोहोर्याए । नेपाली भूमिबाट भारतीय सेना हटेर भारतले असल छिमेकीको उदाहरण देखाउनुपर्ने उनले जोड दिए । उनले नेपाल भारतवीचको सिमा विवाद तत्काल समाधान गर्नुपर्ने खाँंचो पनि औंल्याए ।
अनलाइन प्रवचनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, संघीय सांसद प्रेम सुवाल, सीमा अध्येता रतन भण्डारी, आयोजक समाजका सचिव निरज लबजूलगायतले नेपाल सरकारमा बस्दै आएकाहरूको नालायकीपन, गैरजिम्मेवारीपनले भूमि सुरक्षा हुन नसकेको बताए । उनले आफूहरूसँग प्रशस्त प्रमाण हुँदाहुँदै पनि सत्तामा बस्नेहरूले त्यसलाई प्रस्तुत गर्न नसक्दा भारतले जहिले पनि मिचाहा प्रवृत्ति देखाइरहेको बताए ।