तयार भयो लिम्पियाधुरासहित नयाँ नक्सा, छिट्टै सार्वजनिक गरिने !

काठमाडौँ – कालापानी-लिम्पियाधुरा सहित भारतले मिचेको सम्पूर्ण भूमि सहितको नक्सा तयार पारेको छ। सरकारले भारतले अतिक्रमण गरेको सम्पूर्ण भूमि समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार पारेको हो।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार भइसकेको जनाएको छ। उक्त नक्सा छिट्टै सार्वजनिक गर्ने तयारी छ।

बताइएअनुसार, तयार पारिएको उक्त नयाँ नक्सा सहितको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भूमि व्यवस्था मन्त्रालयले गरेको छ। नक्साको काम पहिला देखि नै चलेको र भारतसँगको वार्ता हुने अपेक्षाले नक्सा सार्वजनिक नगरिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको भनाई छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उक्त विषय समावेश भइसकेको छ। नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा पेश गर्ने र त्यहाँबाट पारित भएपछि सार्वजनिक गरिनेछ।

धेरै समय देखि नेपालको नक्सामा लिम्पियाधुरासहितका क्षेत्र गायब छन्। राणा काल र पन्चायतकालदेखिनै नक्सामा नसमेटिएको उक्त भूभाग नक्सामा उतारेर कुटनीतिक रुपमा भारतसँग दावी गर्ने सरकारको तयारी छ।

कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायतका नेपाली भूमिमा भारतले सेना राखेर अतिक्रमण गर्दै आएको छ। भारतले नेपालको भूमि मिचेर बनाएको सडक हालसालै उद्घाटन समेत भइसकेको छ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०९:०६

चन्द्रागिरि नपामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध !