काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएको छ।
आइतबार कोरोना भाइरस नियन्त्रणका लागि चालिएको कदमहरु बारे छलफल गर्न बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको हो।
देशमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको हुँदा लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन सरकारलाई सुझाव दिने बैठकले निर्णय गरेको छ। बैठकले लकडाउनलाई कडा पार्ने विषयमा पनि छलफल गरेको छ।
समितिले लकडाउन बढाउने बारे छलफल गरेपनि त्यस बारे आइतबार नै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने प्रधानामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीको भनाइ छ। लकडाउनले सम्भावित ठूलो संक्रमणलाई काबुमा राख्न सफल भएको बैठकको निष्कर्ष छ।
बैठकले क्वारेन्टाइनलाई अझै व्वयस्थित बनाउन स्थानीय पालिकाहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको छ। कोरोना संक्रमण विरुद्ध अग्रपन्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा तथा सेवासुविधाको बारेमा पनि बैठकमा छलफल भएको बिडारीले बताए।