काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले लकडाउनको अवधिलाई मे ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ ।
केन्द्रीय गृह मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार भारतमा लकडाउनको अवधिलाई मे ३१ सम्म लम्ब्याइएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सबै केन्द्रीय र राज्य मन्त्रालय विभाग र प्राधिकरणलाई आउँदाे मे ३१ सम्म देशैभर लकडाउनकाे अवधि बढाउन निर्देशन दिएको बताइएको छ।
कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको थियो। छलफलका क्रममा लकडाउनलाई अगाडी बढाउन मुख्यमन्त्रीहरूले सुझाव दिएका थिए।
भारतमा पछिल्ला केहि दिनहरु देखि कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ। पछिल्ला दिनहरुमा दैनिक ४ हजार भन्दा बढी संक्रमित बढेपछि भारतमा अहिले कोरोना भाइरस संक्रमितको संख्या ९१ हजार नाघेको छ। साथै भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमणको कारण करिब २ हजार ९ सयले ज्यान गुमाइसकेका छन्।