लकडाउनलाई जेठ २० गते सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय !

काठमाडौं – सरकारले २० जेठसम्मका लागि लकडाउन थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले दिएको सुझाव अनुसार लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याउने निर्णय गरिएको बताइएको छ।

सरकारले सबै भन्दा पहिला चैत ११ देखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो। जसलाई २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। पुनः लकडाउनलाई निरन्तरता दिँदै सरकारले लकडाउनलाई वैशाख ३ सम्म पुर्याएको थियो। ३ गतेपछि पनि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्याएको थियो।

वैशाख १५ पछि पनि १० दिन थपेर लकडाउनलाई सरकारले वैशाख २५ गते सम्म पुर्याएको थियो। कोरोना संक्रमित थपिँदै गएपछि सरकारले २५ गतेबाट लकडाउनलाई लम्ब्याएर जेठ ५ गते सम्म पुर्याएको थियो। सरकारले यस अगाडी थप गरेको लकडाउनको म्याद सोमबार सकिँदै थियो।

नेपालमा पछिल्ला केहि दिन देखि लगातार संक्रमित थपिरहेका छन्। आइतबार साँझ सम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। जस मध्ये दुई जनाले ज्यान गुमाएका छन्।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७१४:४७

शिक्षण अस्पतालमा कोरोना पुष्टि भएकी बालिकाका हजुरबुवा-हजुरआमाको कोरोना रिपोर्ट आयो !