काठमाडौँ – गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका अग्र भागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न चेतवानी दिएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालय सुरक्षा सर्तकताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने जस्ता कार्य गरी मनोबल गिराउने काम गरे कारवाही गर्ने चेतावनी दिएको हो।
“यस कठिन क्षणमा पनि सुरक्षा सर्तकताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही
व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसीरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”,गृहले विज्ञप्तिमा भनेको छ।
विभिन्न जिल्लामा कोठा भाडामा बसेकालाई निस्कन दबाब दिने,कामबाट बेलुका घर फर्केकालाई प्रवेश नदिने,बाटोमा अनाधिकृत रुपमा प्रवेश निषेध भन्दै बार लगाउने जस्ता गतिविधि बारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता गतिविधिमा संलग्नहरुलाई संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कारबाही गर्न सकिने व्यवस्था रहेको पनि गृहले सबैमा जानकारी गराएको छ।
“नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न नेपाल सरकारले नेपाल राज्यका सवै प्रमुख जिल्ला अधिकारीहरुलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानून बमोजिम सजाँय हुने प्रावधान समेत रहेको व्यहोरा सम्बन्धित सबलाई जानकारी नै छ ।”,विज्ञप्तिमा भनिएको छ।