कोरोना संक्रमणमा भारतको रेकर्ड: बिहार र उत्तर प्रदेशमा पनि उच्च वृद्ध भएपछि नेपालमा खतरा !

एजेन्सी – भारतमा एकै दिन पाँच हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। २४ घण्टाको समयमा पाँच हजार भन्दा बढी संक्रमित फेला परेपछि भारतमा नयाँ रेकर्ड समेत बनेको छ।

भारतमा २४ घण्टामा ५ हजार ५० जना कोभिड १९ संक्रमित फेला परेका छन्। जससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ। बितेको २४ घण्टामा यति धेरै कोरोना भाइरस संक्रमित फेला परेको यो पहिलो पटक हो।

यस्तै भारतमा बितेको २४ घण्टामा १ सय ५४ जनाको ज्यान गएको छ। जससँगै भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २५ पुगेको छ।

भारतको महाराष्ट्रमा बितेको २४ घण्टामा हाल सम्मकै सबै भन्दा बढी संक्रमित थपिएका छन्। त्यहाँ एकै दिन २ हजार ३ सय ४७ जना नयाँ संक्रमित थपिएका छन्। मुम्बईमा ३८ जनासहित महाराष्ट्रमा मात्रै ६३ जनाले एकै दिन ज्यान गुमाएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश र बिहारमा पनि कोरोना संक्रमितको संख्या बढेको छ। उत्तर प्रदेशमा एकै दिन २ सय ८ जना संक्रमित भेटिएका छन्। उत्तर प्रदेशमा भेटिएका पछिल्ला संक्रमितमध्ये ७० प्रतिशत श्रमिक मजदूर रहेको बताइएको छ।

यस्तै बिहारमा पनि एकै दिन १ सय ६ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७०२:४८

काठमाडौं भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै: कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका !