काठमाडौँ – सोमबार बिहान नौं जनामा कोरोना संक्रमण थपिएका छन्। विभिन्न जिल्लाहरुमा गरी सोमबार बिहान ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटमा ८ र बारामा एक गरी ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएकाहरुमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिला रहेका छन्। यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ। जसमध्ये २ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै नेपालमा ३६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किसकेका छन्।