काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसे निवासी २९ वर्षीया सुत्केरी महिलाका परिवारजनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
महिलाकी १३ दिने शिशु सहित श्रीमान, माइतीतर्फको आमा र बहिनीको पीसीआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ। मृत्यु पश्चात महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि शिशु र परिवारका अन्य सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो।
कोरोना नेगेटिभ आएपछि मृतक महिलाका परिवारजनलाई १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ। सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा उनीहरुलाई क्वारेन्टाइनमा राख्न लागिएको हो।
शनिबार सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको पनि कोभिडबाटै मृत्युको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरीपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, श्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको थियो ।