“‘निजी अस्पताललाई तत्कालै राष्ट्रियकरण गरियोस्” – सांसद प्रदीप यादव !

काठमाडौँ – सांसद प्रदीप यादवले निजी अस्पतालहरूलाई राष्ट्रियकरण गर्न माग गरेका छन्।

सोमबार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद यादवले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै निजी अस्पतालहरूलाई राष्ट्रियकरण गर्न माग गरेका हुन्।

“सरकारसँग विनम्र अनुरोध छ। अहिले तत्कालै निजी अस्पतालहरुलाई राष्ट्रियकरण गरेर देशका नागरिकलाई बचाउन जरुरी छ। जबसम्म निजी अस्पतालहरू राष्ट्रियकरण हुँदैन तबसम्म हामीले नागरिकहरुलाई बचाउन सक्दैनौं।”,उनले भने।

हरेक नीति तथा कार्यक्रममा संघको मात्र नाम अगाडी सारिएको प्रति उनले आपत्ति जनाए। कृषि आधुनिकीकरण, अस्पताल निर्माण, वैदेशिक रोजगारबाट फर्किने युवाहरुको रोजगार लगायतका विषयमा प्रदेशहरुको नाम नराखेर संघियता माथि प्रहार गर्न खोजिएको उनले आरोप लगाए।

“सबै कुरा संघले नै हेर्ने भए संघियता किन चाहियो? संघियताको के काम ?”,प्रश्न गर्दै उनले भने। सरकारले ल्याएको नीति तथा कार्यक्रम संघमुखी देखिएको हुँदा यसले संघियता माथि प्रहार गर्न खोजेको उनको आरोप छ।

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको भएपनि सरकारले कोरोना नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न भने नसकेको उनले आरोप लगाए।

लकडाउनलाई निरन्तरता दिँदा पनि कोरोना संक्रमण बढिरहेको हुँदा सरकारले ठोस कदम चाल्न नसकेको पुष्टि भएको उनको बुझाई छ। कोरोना भाइरस संक्रमण मधेशमा बढिरहेको भएपनि स्वास्थ्य पूर्वाधारको विषयमा सरकार काठमाडौँ केन्द्रित भएको प्रति उनले आपत्ति जनाए।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७०८:०८

बाबुरामलाई च्यालेन्ज: “प्रमाणित भए म झुण्डिन्छु, प्रमाणित नभए डाक्टरहरु झुण्डिने हो?”