ओट्टावा – क्यानाडेली वायुसेनाको एउटा ल-डाकू विमान दुर्घटनाग्रस्त भएको छ। क्यानाडेली वायुसेनाको एउटा ल-डाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परी एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ज्यान गुमाउनेमा क्याप्टेन जेन केसी रहेको रोयल क्यानाडीयन एयर फोर्सले जनाएको छ। उनी सन् २०१८ देखि रोयल क्यानाडीयन एयर फोर्समा भर्ति भएकी थिइन्।
सिबिसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार अर्का घाइते पाइलटको उपचार भइरहेको छ ।
एक्रोब्याट्स प्रदर्शनका क्रममा उक्त विमान सिधै तल खसेको थियो। प्राविधिक समस्याका कारण खस्दै गर्दा विमान आकाशमा पड्किएको थियो भने नजिकैको एक घरमा खसेको थियो।
उक्त घटनाको केहि भिडियो पनि सार्वजनिक भएका छन्। सार्वजनिक भिडियोमा विमान एक्रोब्याट्स प्रदर्शनकै क्रममा सिधै जमिन तर्फ खसेको देखिएको छ।
प्रत्यक्षदर्शीले लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवाशीय क्षेत्रमा खसेको बताएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबाट आफू दुःखी भएको बताएका छन् ।