गुल्मीका कोरोना संक्रमित आइसियूमा, भेन्टिलेटरको सहायतामा उपचार !

सांकेतिक तस्विर

काठमाडौँ – सोमबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका गुल्मीका ४१ वर्षीय पुरुष आइसियूमा रहेको खुलेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल पुर्याएका उनी आइसियूमा रहेको र उपचारकै क्रममा कोरोनाको पुष्टि भएको खुलेको हो।

जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनलाई उपचारको लागि क्रिमसन अस्पताल पुर्याएको थियो। अस्पताल भर्ना भएको दिनदेखिनै भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार कोरोना पुष्टि पछि पनि उनको सोहि अस्पतालमा उपचार भइरहेको छ।

कोरोना देखिएका उनी पेशाले शिक्षक हुन्। कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। उनकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको हुँदा सोहि क्वारेन्टाइनबाट कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ। ट्राभल हिस्ट्री बारे अनुसन्धान गर्दा उनी कतै बाहिर नगएको पाइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताएका छन्।

कोरोना संक्रमित निजी अस्पतालमा उपचाररत रहेको हुँदा उनलाई अन्त्यत्र सार्ने अथवा त्यहि राखेर उपचार गर्ने विषयमा छलफल भइरहेको चौधरीको भनाई छ।

यस्तै क्रिमसन अस्पताललाई पनि सिल गर्ने तयारी गरिएको छ भने उनको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी सँगै उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य अगाडी बढाइने उनले बताए।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१२:४५

अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपछि अस्पताल सिल !