अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपछि अस्पताल सिल !

रुपन्देही – उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ ।

जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनलाई उपचारको लागि क्रिमसन अस्पताल पुर्याएको थियो। अस्पताल भर्ना भएको दिनदेखिनै भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार कोरोना पुष्टि पछि पनि उनको सोहि अस्पतालमा उपचार भइरहेको छ।

निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका उनको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिए ।

अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उनले बताए । मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आएका उनमा एक्कासि ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागि क्रिमसन अस्पतालमा आएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

कोरोना देखिएका उनी पेशाले शिक्षक हुन्। कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। उनकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको हुँदा सोहि क्वारेन्टाइनबाट कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ। ट्राभल हिस्ट्री बारे अनुसन्धान गर्दा उनी कतै बाहिर नगएको पाइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताएका छन्।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१३:१६

आकाशमा उड्दै थियो विमान, एक्कासी यस्तो भयोकी पड्किदै जमिनमा खस्यो ! [भिडियो सहित]