नक्सा पारित भएपछि पर्यटनमन्त्रीले भने – “यो निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने छ”

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय इतिहासको पानामा लेखिने बताएका छन्।

सोमबार सामाजिक संजाल ट्वीटरमार्फत मन्त्री भट्टराईले कालापानी-लिम्पियाधुरा सहित भारतले मिचेको सम्पूर्ण भूमि सहितको नक्सा मन्त्रिपरिषद्बाट पारित भएको प्रति टिप्पणी गर्दै यस्तो बताएका हुन्।

लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर नक्सा पारित गर्दै सार्वजनिक गरेको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिने मात्र नभई आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने उनको ट्वीटमा उल्लेख गरेका छन्।

“आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !”,मन्त्री भट्टराईले लेखेका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर तयार पारिएको नक्सालाई पारित गरेको हो।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार पारेको थियो। मन्त्रिपरिषद्बाट पारित भएसँगै नक्सा सार्वजनिक गर्ने तयारी गरिएको छ।

धेरै समय देखि नेपालको नक्सामा लिम्पियाधुरासहितका क्षेत्र गायब छन्। राणा काल र पन्चायतकालदेखिनै नक्सामा नसमेटिएको उक्त भूभाग नक्सामा उतारेर सार्वजनिक गरी कुटनीतिक रुपमा भारतसँग दावी गर्ने सरकारको तयारी छ।

कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायतका नेपाली भूमिमा भारतले सेना राखेर अतिक्रमण गर्दै आएको छ। भारतले नेपालको भूमि मिचेर बनाएको सडक हालसालै उद्घाटन समेत भइसकेको छ।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१४:३७

धनुषाका संक्रमित काठमाडौंमै रहेको खुलासा !