भारतबाट भित्रिएको कोरोना: सातामा २२३ नयाँ संक्रमित, २ को मृत्यु !

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पछिल्लो समय निक्कै आक्रमक रुपमा बढ्न थालेको छ । पछिल्लो तीन महिनामा १ सय ३४ जनामा देखिएको संक्रमण अन्तिम सात दिनमा मात्रै थप २ सय २३ जनामा देखिएको छ । जसमध्ये दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भईसकेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

कोरोनाको हटस्पटका रुपमा अहिले क्वारेन्टाइन देखिन थालेको छ । भारतबाट आएकाहरु बसेको क्वारेन्टाइनमा संक्रमितको सख्या बढ्न थालेको हो भने उनिहरुको सम्पर्कमा आएकाहरुमा देखिएको छ । सबैभन्दा पहिला उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । सो स्थान हटस्पट बनेपछि सिल गरेर त्यहा नियन्त्रणमा लिइएको छ । त्यसलगत्तै नेपालगञ्ज, पर्साको छपकैया, कपिलबस्तु र रुपन्देही हटस्पट बनिरहेको छ ।

संक्रमित फेला परेका ३५७ मध्ये अधिकाशं भारतबाट आएका

चैत २९ गते ३ जनामा संक्रमण देखिएसगै संक्रमितहरू भेटिन थालेको पर्सा जिल्लामा ३६ दिनको अन्तरालमा संक्रमितको सख्या बढेर ९१ पुगेको हो । वीरगञ्ज महानगरपालिका–३ भने पर्सा जिल्लामा सबैभन्दा बढी संक्रमित रहेको क्षेत्र बनेको छ । चैत ३० गतेदेखि नै सिल रहेको उक्त वडामा एकै परिवारका १८ जनासहित संक्रमितको सख्या ४० पुगेको छ । त्यहा अझै पनि त्यहा संक्रमित भेटिने क्रम जारी रहेको छ ।

पछिल्लो पटक बाँकेको पूर्वीक्षेत्र नरैनापुर गाँउपालिका हटस्पट बनेको छ । आइतवार विहान एक युवाको कोरोना संक्रमणसँगै मृत्यु भएपछि सो क्षेत्रमा सोमबार एकैपटक ४७ जना संक्रमित भेटिएका छन् । कोरोना भाइरस परीक्षणका लागि नरैनापुर गाउँपालिकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो । मृतक युवा र सोमबार भेटिएका संक्रमित ४७ जना भारतको मुम्बईबाट सँगै आएको र बैशाख ३० गते सीमा नाकाबाट सुरक्षाकर्मीले ल्याएर क्वारेन्टाइनमा राखेका थिए ।

त्यसअघि गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण भेटिएपछि उपचारका लागि दाङको बेलझुण्डी अस्पतालको आईसुलेसनमा राखिएको छ । ८ जनामा कोरोना पुष्टि भएपछि नरैनापुरका २ सय ७३ को स्वाब संकलन गरिएको थियो । ती मध्ये १ सय १९ जनाको परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एउटै पालिकामा संक्रमितको संख्या ५५ पुगेको छ ।

एउटै पालिकामा संक्रमितको संख्या बढेपछि रेडजोन क्षेत्र घोषणा गर्न माग गरिएको छ । ठूलो संख्यामा संक्रमित भेटिएपछि पालिकाभरी जाँचको दायरा बढाउन माग गरिएको छ । नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । जसमा १३ वटा स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । संक्रमितमध्ये अधिकाश भारतबाट लुकिछिपी नेपाल आएका छन् । सीमामा कयौ दिनसम्म अलपत्र परेका र कयौं दिन लगाएर हिड्दै भारतका विभिन्न शहरबाट रातको समयमा नेपाल छिरेकाहरुमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना व्यक्तिमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि सोमबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै एकैदिनमा कोरोना संक्रमितको संख्या ६२ रहेको छ । संक्रमित सबैको उमेर १८ वर्षदेखि ४६ उमेर समूह रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा एकैदिन सबैभन्दा धेरै बैशाख ३० गते ८३ जनामा देखिएको थियो । जसमध्ये पर्साका मात्रै ५७ जना थिए । जहा २ महिना र ५६ महिनाका शिशुमा समेत कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि सबैभन्दा धेरै सोमबार एकैपटक ६२ जना संक्रमित फेला परेका हुन् । बैशाख २९ गते १ सय ३४ जना संक्रमित रहेकोमा ३० गते २ सय १७, ३१ गते २ सय ४३, जेठ १ गते २ सय ४९ जना पुगेका थिए । २ गते २ सय ६७ जना, ३ गते २ सय ८१, ४ गते २ सय ९५ जना पुगेका हुन् । जसमध्ये २९ वर्षिया महिलाको जेठ १ गते मृत्यु भएपनि ३ गतेमात्र कोरोनाको पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म ३३ जिल्लामा कोरोना देखिएको छ । हालसम्म पर्सामा ९१, बाँकेमा ८१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ६, कैलाली, बारा र दाङमा ४÷४, चितवन, महोत्तरी, सर्लाही र मोरङमा ३÷३ तथा बागलुङ, झापा, भक्तपुर, बर्दिया र धादिङमा २÷२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा र गुल्मीमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०२:३६

अस्पतालमै देखिन थाल्यो कोरोना, रोग पाल्न बाध्य भए अन्य बिरामी !