कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण सफल, थप परीक्षण गरिँदै !

एजेन्सी – अमेरिकामा कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ। एक अमेरिकी कम्पनिले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो चरणको मानव परीक्षण सफल भएको हो।

नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ तयार पारेको उक्त खोपले मानव शारिरमा सकारात्मक प्रभाव पारेको र कोरोना विरुद्ध रोग प्रतिरोधी क्षमता बढाएको बताइएको छ।

एमआरएनए-१२७३ नाम दिइएको उक्त खोपको नकारात्मक असर पनि कम देखिएको खोप निर्माणकर्ताहरुले दावी गरेका छन्। कोरोना भाइरस संक्रमण भएर निको भएका बिरामी भन्दा पनि उक्त खोप लगाएका मानिसहरुमा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको निर्माणकर्ताहरुको दावी छ।

खोप पहिलो पटक १६ मार्चमा दुई बच्चाकी आमा ४३ वर्षीया जेनिफरलाई लगाइएको थियो। उक्त परीक्षणले देखाएको असरले खोप निर्माणकर्ताहरु उत्साहित भएका छन्। मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोनाभाइरससँग लडेर निको भइसकेका बिरामीमा भन्दा पनि बढी पाइएको मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टीफन बैसेलको भनाई छ।

उनका अनुसार सुरुवाती चरणमा रहेको खोपले देखाएको असर सोचे भन्दा धेरै राम्रो छ। पहिलो चरणको खोप परीक्षण सफल भएपछि अहिले उक्त कम्पनि थप परीक्षणमा जुटेको छ। अन्य परीक्षण पनि सफल भएमा सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन्।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०६:०५

झन् शक्तिशाली हुँदै चक्रवात अंपुन: के होला नेपालमा असर ? यसो भन्छन् मौसमविद् !