“मलाई व्यापारमा रुची छैन, मैले ओम्नीबारे सुनेकै थिइनँ” – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री तथा उपकरण खरिद प्रक्रियामा विवादित बनेको ओम्नी कम्पनी बारे आफूलाई केहि पनि थाहा नभएको बताएका छन्।

नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा मंगलबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ओम्नी कम्पनी बारे आफूलाई केहि थाहा नभएको बताएका हुन्।

विभिन्न संचार माध्यममा ओम्नी नामको संस्था बालुवाटारसँग जोडिएको भन्ने समाचारको आएको विषयलाई खण्डन गर्दै उनले ओम्नी भन्ने कम्पनीबारे आफूले नसुनेको बताए।

व्यापार विजनेसको कारोवार आफ्नो विषय नभएको उनले स्पष्ट पारे। आफ्नो विषय राजनीति रहेको हुँदा व्यापारमा रुची नराख्ने र डिल पनि नपर्ने दावी गरे।

“कतिपय सञ्चारमाध्यमहरूमा कताकता ओम्नी भन्ने नामको कुनै कम्पनी वा संस्था आदिको कुरो आउँछ। यतिसम्म पनि भनिने अवस्था मैले देखें कि यो बालुवाटारसँग सम्बन्धित छ। ओम्नी भन्ने मैले सुनेको पनि थिइनँ। व्यापार विजनेसको कारोवार मेरो विषय होइन, मेरो विषय राजनीति हो । म व्यापारमा रुची पनि राख्दिन र डील पनि गर्दिन । मेरो सरोकार पनि हुँदैन ।”,उनले भने।

कोरोना महामारी जस्तो विशेष अवस्थामा मन्त्रालय र स्वास्थ्य विभागको डाइरेक्टरले काम गर्न सक्ने हुँदा त्यसमा भ्रष्टाचार भए कारवाही र छानविन हुने उनले बताए।

“मन्त्रालय र विभागका महानिर्देशकले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट गराउन सक्छ। एक तह माथिका कर्मचारीलाई जानकारी दिन सक्छ। यो कुरा प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्दैन। सचिवलाई रिपोर्टिङ गर्छ।”,उनले भने। यस्तै ओलीले हरेक कुरामा भ्रष्टाचारमात्र देख्नु र मन नपरेकोलाई लगेर जोडिदिनू राम्रो नभएको पनि बताए।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०९:३४

माछा चोरीको विषयमा झ-डप, प्रहरीसहित पाँच घाइते !