*गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भएको भन्ने सम्प्रेषित समाचार क्षमायाचना सहित सच्याएका छौँ
काठमाडौँ – रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले दावी गरेको छ। ।
अस्पताल प्रशासनले बुधबार एक विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको हो । सामाजिक सञ्जाल तथा मिडियामा बिरामीको मृत्यु भएको भनि आएको समाचारलाई अस्पतालले गलत भ्रामक, अतिरञ्जित भनेको छ।
“केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरंजीत समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमूदायमा अनावश्यक त्रासको वातावरण सृजना भएको छ।”,विज्ञप्तिमा अस्पतालले भनेको छ। कोरोना संक्रमित बिरामीको स्वास्थ्य अवस्था भने गम्भीरनै रहेको अस्पतालको भनाई छ।
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दिएको जानकारी अनुसार उनको मृत्यु भएको समाचार सम्प्रेषण भएको थियो। मन्त्री बराललाई सूचनाकै आधारमा बिगुल न्यूजले पनि कोरोनाका कारण नेपालमा तेस्रो मृत्यु भएको समाचार सम्प्रेषण गरेको थियो।
अस्पतालले मन्त्री बरालले मृत्यु भएको भनी गरेको दावी गलत रहेको बताएको छ। मन्त्रीले हचुवाको भरमा मृत्यु बारे हल्ला फिंजाएको अस्पतालको आरोप छ।