सङ्क्रमित बस्ने द्यौला बस्ती ‘सिल’

भक्तपुर – भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले ‘सिल’ गरेको छ ।

भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उनको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर बस्ती सिल गरेको छ ।

बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

कोरोना र सुत्केरीलाई फरक स्थानमा उपचारको व्यवस्था गर्न सुझाव

राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नन्दा चापागाईंले कोरोना भाइरसका बिरामी र गर्भवती सुत्केरीको उपचार एकै ठाउँमा गरेको पाइएको हुँदा फरकफरक स्थानको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

“कतिपय अस्पतालमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचार र गर्भवती तथा सुत्केरीको उपचार भएको देखियो”, सांसद चपाईले भनिन्, “ती उपचार फरकफरक हुन जरुरी छ, जनतालाई सुविधा होस् मुख्य कुरा यही नै हो ।” नेपाली काँग्रेस प्रकाश पन्थले सरकारले विदेशमा सङ्कटमा परेका नेपालीलाई नेपालमा ल्याउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए। उनले भने, “सबै नेपालीलाई विदेशबाट ल्याउनुपर्छ भन्ने होइन, कामविहीन र समस्यामा परेका नेपालीलाई ल्याउनुपर्छ, सरकार नेपाली नागरिकको अभिभावक हो ।”

सांसद पन्थले क्यारेन्टाइन बनाउन समस्या परेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै नेपालमा धेरै सुविधासम्पन्न होटललाई क्वारेन्टिन प्रयोग गर्नसमेत सुझाव दिए। नेकपाका मायाप्रसाद शर्माले कोरोना भाइरसको सङ्क्रमणका कारण विपद्मा परेका नागरिकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिए।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७०६:३५

कपिलवस्तुको क्वारेन्टिनबाट भागे एघार जना