पोखरा – पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ ।
पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ व्यक्तिको मङ्गलबार आइडिटीबाट कोरोना परीक्षण गरिएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए।
उनका अनुसार नमूना सङ्कलनका लागि उनीहरुमा आरडिटी परीक्षण गरिएकामा चार जनामा इन्डिबढी देखियो । मङ्गलबार ५६ जनाको र्यान्डम परीक्षण गरेका थियौं, चार जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरेर पठाएका छौँ ।
आरडिटी पोजेटिभ देखिएकाको पिसीआर विधिबाट परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा थ्रोट स्वाब सङ्कलन गरी पठाइएको छ भने उनीहरुलाई छुट्टै निगरानीमा राखिएको उनको भनाइ छ । महाशाखाले आज पोखरा—२५ हेमजारमा परीक्षण सञ्चालन गरेको छ ।
ललितपुरका सबै पालिकाले शुरु गरे कोभिड–१९ परीक्षण
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरु गरेका छन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, सञ्चारकर्मीलगायतको परीक्षण गरिरहेका छन् । यो एक महिनाभित्र सङ्क्रमण फैलिएका जिल्लाबाट आएका नागरिकको समेत परीक्षण भइरहेको छ ।
ललितपुर महानगरपालिकाले शनिबार र आइतबार महानगरपालिका कम्पलेक्स, सोमबार लगनखेलचोक र मङ्गलबार हरिसिद्धिमा परीक्षण गरेको थियो । कतिपयको पिसिआर त कतिपयको आरडिटी विधिबाट परीक्षण गरिएको महानगरले जनाएको छ । शनिबार २११ को र आइतबार १४८ जनाको पिसिआर विधिबाट परीक्षण भएको थियो । शनिबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ भने आइतबार गरिएको परीक्षणको नतिजा आउन बाँकी छ ।
महानगरले शनिबार नै ११९ व्यक्तिको आरडिटी परीक्षण गरेको थियो । त्यस्तै सोमबार दिउँसो ३२९ जनाको आरडिटी परीक्षण भएको थियो । उनीहरु फलफूल, तरकारी, ग्यास बिक्रेता रहेको प्रवक्ता महर्जनले जानकारी दिए । मङ्गलबार विदेशबाट फर्किएका २७ व्यक्तिको आरडिटी परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको महर्जनले जानकारी दिए ।