जोखिम मोलेर अहोरात्र खट्ने एम्बुलेन्स चालकले बाटोमा पानी पनि पिउन नपाउने!

कोरोना रोगको सङ्क्रमण बढ्दै जाँदा चौबीसै घण्टा सेवामा समर्पित हुने एम्बुलेन्स चालकले भने बाटोमा पानी पनि पिउन नपाउने गरेको बताएका छन् । कोरोना आयो भन्दै एम्बुलेन्ससमेत रोक्न नदिने गरेको उनीहरुको गुनासो छ । नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् । तीमध्ये सबैभन्दा बढी दुई÷दुई सय हाराहारी काठमाडौँ र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने जानकारी दिनुभयो ।

केहीबाहेक अधिकांश यो सङ्कटको घडीमा कार्यक्षेत्रमा छन् । उहाँ भन्नुहुन्छ, “जोखिम मोलेर अहोरात्र खट्दा पनि हाम्रा लागि कसैले हेर्दैनन्”, एम्बुलेन्स चालकहरुमा गुनासाका चाङ छन् उहाँको भनाइमा बाटोमा पैसा तिरेर पनि खान पाइँदैन । उहाँले गुनासो गर्नुभयो, “एम्बुलेन्स रोक्यो भने कोरोना आयो भन्दै घृणा गर्दछन् ।” बाटोमा पानीसमेत किनेर खान नपाउने गरेको उहाँको गुनासो छ । यस्तै एम्बुलेन्स चालकलाई पिपिइ, स्यानिटाइजर र मास्क छैन, भाडाको रकमले स्यानिटाइजर किन्न पुग्दैन ।

यस्तै प्रहरीले जाँचका क्रममा दुःख दिने गरेको चालकको गुनासो छ । बिरामी झार्ने, अनावश्यक कागजपत्र माग्ने र चालकलाई तथानाम गाली गर्ने गरेको लामिछानेको गुनासो छ । उहाँले भन्नुभयो, “केहीले कमी कमजोरी गरे होलान्, ती चालक कारवाही गर्नुपर्छ तर सबैलाई जाँचका नाममा ज्याजति गरिन्छ ।” देशमा सङ्क्रमणमा भिड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारको नाम लिइन्छ, तर सँगै जोखिम मोल्ने र काम गर्ने हामीलाई कसैले सम्झँदैन उहाँले गुनासो गर्नुभयो । आठ घण्टा काम गर्ने सरकारका कर्मचारीले तलब स्केलको दोब्बर पाइरहँदा २४ घण्टा काम गर्ने एम्बुलेन्स चालकले रु आठदेखि १० हजारमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०७:००

मदिराको तालमा आफैले घरमा आगो लगाएपछि …