“एकतर्फी नक्सा जारी गर्दैमा लिम्पियाधुरा नेपालको भन्न मिल्दैन, जमीन फिर्ता हुँदैन”

काठमाडौँ – नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नक्सा जारी गर्दैमा लिम्पियाधुरा नेपालकै हो भन्न नमिल्ने बताएका छन्। पत्रकार ऋषि धमलाले लिएको एक अन्तर्वार्ताको क्रममा उनले नयाँ नक्सा जारी गर्दैमा लिम्पियाधुरा नेपालकै हो भन्न नमिल्ने बताएका हुन्।

एकतर्फी रुपमा नक्सा जारी गर्दैमा जमीन फिर्ता नहुने उनको तर्क छ। लिम्पियाधुरा नेपालकै हो भन्ने प्रमाण नेपालसँग भएदिएको भए लिम्पियाधुरा लगायतका क्षेत्र पहिला नै फिर्ता भइसकेको हुने उनले तर्क गरे।

“त्यो सबै प्रमाण हुँदाहुँदै ६५ वर्षसम्म हामी के हेरेर बस्यौं त ? भारतले त्यत्रो बाटो बनाउँदासम्म प्रधानमन्त्री त केपी ओली नै थिए त उनले त्यो बेलामा किन हेरेनन् ? जति समय जान्छ त्यति नै ‘रात बस्यो, अग्राख बस्यो’ भने जस्तो भारतको सेना झन् जरिएर बस्छ । यसको लागि हामीले यति धेरै समय गुमायौं कि अब अहिले आएर ओलीजी मैले बडो गजबको काम गरेँ भन्नुहुन्छ । भारतले बाटो खन्न थाल्दा पहिलोपटक पनि ओली नै प्रधानमन्त्री थिए । त्यो बेलामा उहाँ के हेरेर बस्नुभयो त । अहिले एकतर्फी रुपमा नक्सा जारी गरिएको छ । त्यसरी एकतर्फी नक्सा जारी गर्दैमा जमीन फिर्ता हुन्छ त ?”,उनले भने।

यस्तै उनले ‘सत्य मेय जयते, सिंह मेव जयते’ भनेर ओलीले नेपाल-भारत बीचको सम्बन्ध बिगारेको पनि बताएका छन्। सीमाविवादको विषयमा भारतसँग राम्रोसँग मित्रबत ढंगले वार्ता गर्नुपर्ने अवस्थामा ओलीले भड्किलो भाषण गरेर स्थितिलाई बिगारेको उनको आरोप छ। यस विषयलाई अन्तर्राष्ट्रियकरण गरेको खण्डमा चीनले समेत नेपालको साथ छाड्ने उनले स्पष्ट पारे।

“गरुन् त वार्ता कसले रोकेको छ यिनीहरुलाई । यो कुरा त पहिला पनि उठेको थियो नि । त्यसबेला पनि प्रधानमन्त्री त ओली नै थिए त ? किन नगरेको ? अहिले पनि वार्ता गर भनेका छौं त किन नगरेको त ? पहिला भारतसँग वार्ता गरेर अब अन्तर्राष्ट्रिय करण गर्ने रे ? चीनले पनि दुईपक्षीय वार्ता गरे भनेको छ । भोलि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने हामीलाई चीनको पनि साथ मिल्दैन । यसमा भारतसँग राम्रोसँग मित्रबत ढंगले वार्ता गर्नुपर्ने थियो । ओलीजीको अस्तिको भाषणले खत्तमै पारिदिनुभयो ।”,अन्तर्वार्तामा उनले भनेका छन्।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७०८:४८

एम्बुलेन्स चलाएर बिरामी अस्पताल पुर्‍याउदै वडाअध्यक्ष खड्का !