नेपालका सबैजसो कम्युनिष्ट पार्टीहरु र तिनका नेताहरुले भारतीय विस्तारवाद मूर्दावादको नारा स्थापनाकालदेखि नै चर्कोसँग लगाए । कतिपय नेताहरुले त जिन्दगीभर घन्काए, घन्काउँदै छन् । कुनै बेला त भारतविरुद्ध सुरुङयुद्धकै घोषाणा गरियो । सुरुङयुद्धका लागि पाखाभित्ता खोस्रिने बचपनका कामसमेत गरे । आफ्ना राजनीतिक सभासम्मेलन र अधिवेशनमार्फत लिखित दस्तावेजमा पनि भारतीय विस्तारवाद विरुद्धको शाब्दिक हमला पटकपटक दर्बिलोसँग गरे । प्रजातान्त्रिक भनिएका पार्टी र तिनका कतिपय शीर्षस्थ नेताहरुले पनि परोक्ष रुपमा भारतविरुद्ध लागेका प्रमाण यथेष्ठ छन् । युरोपियन या अमेरिकन आडमा त्यस्ता अडान लिएका उदाहरण अद्यपि जारी छ । यी कार्यका पृष्ठभूमिमा छिमेकीका केही त्यस्ता गतिविधिहरु थिए, छन् जो प्रतिबिम्बित हुन स्वाभाविक भैदिन्छन् । तर, विडम्बना नै मान्नुपर्छ कि
यस्ता गतिविधिहरु हुँदासमेत भारतले आफ्नो रौँ हल्लिएको पनि ठान्दैन, गन्दैन । आश्चर्य नै मान्नुपर्छ कि यस्ता हर्कतका लागि उल्टै उसले जोडबल पुर्याउँदै आएका गुह्य तथ्याहरु छताछुल्ल पोखिएका छन् । आखिर किन त ? कसरी आफ्ना स्वार्थ पूरा गर्दै आएको छ ?
तीतो यथार्थ भन्नैपर्छ कि हाम्रो देशका दलले राजनीति गर्दैनन् । नेताले नेतृत्व पनि गर्दैनन् । २०४६ सालपछिका सबैजस्तो सरकारले देश पनि
चलाउँदैनन् । यसमा एउटा कुरो भने बिर्सिनु हुन्न कि कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकार र मनमोहन अधिकारीको ९ महिने सरकार
अपवाद हुन् । मदन भण्डारी अर्का स्वाभिमानी नेता थिए जो उनीहरुका बाधक देखिएपछि हत्या गरिदिए । बीपी कोइरालालाई गरिएको अपमान पनि यहाँ भन्नै पर्छ । दुखद् कुरो हो कि तिनका उत्तराधिकारी भन्नेहरुले यो पटक्कै ख्याल गरेको भान हुन्नँ ।
यो कुरो भनिरहँदा धेरैले स्वीकार्दैनन् । किनकि समकालीन राजनीतिक धरातल सफा र शुद्ध छैन । भन्न सक्छन्– तँ मुलाले भन्दैमा हुन्छ ? हाम्रो गौरवशाली पार्टीले राजनीति नगरे कसले गरेको छ त ? पटकपटक क्रान्ति गरेको छ, पटकपटक सरकार बनाएको छ, यो चाहिँ के हो त ? कुरो त मनासिब नै हो तर आफ्नै खुट्टामा उभिएर गरिएका आन्दोलन, क्रान्त र परिवर्तन थिएन । कतिपय त छिमेकी उक्साहट र कतिपयमा घुसपैठ, कतिपयमा परोक्ष वा प्रत्यक्ष रुपमा भएका थिए । तिनका माइक्रोम्यानेजमेन्टका फेहरिस्त हिजो बन्द कोठमा हुन्थे । समाज नि बन्दै अवस्था हुन्छ तर आजको खुलासमाजले त्यो तोडिदिएको छ । सुधीर शर्माको प्रयोगशाला पुस्तक पढ्दा धेरै पटक जिब्रो टोकेको थिएँ । हाम्रो फोहोरी राजनीतिक धरातलको आँखीझ्याल हो प्रयोगशाला पुस्तक ।
नेपालका केही मिडिया र यसका केही पत्रकारहरु बाहिरी स्वार्थका हण्डी खन्छन् । देशलाई माया गर्ने हो भने मम भन्दै अब यो कुकृत्य छोड्ने
हो कि होइन ? दलका पहुँचवाला नेताहरु आफ्ना छोराछोरीका पठनपाठन खर्चका लागि दुतावासमा हरिया दाँत ङिच्च पार्न छोड्ने हो कि होइन ? निर्वाचन खर्च पाउँ प्रभु भन्दै लाजको पसारो थाप्न बन्द गर्ने हो कि होइन ? मन्त्री हुन र अन्य शक्तिकेन्द्रमा नियुक्ति पाउनका लागि दुतावासका कनिष्ट कर्मचारीका पाउमा ज्युहजुरी बन्द गर्ने हो कि होइन ? दलीय स्वार्थ, गटगत स्वार्थ र कुर्सी चढ्न र टिक्न त्वम्शरणम् गरिन्च कि गरिन्नँ ? हाम्रा निजामति प्रशासनका शाखाअधिकृतदेखि उच्च तहसम्मका छानिएका सीमित व्यक्तिहरुलाई छिमेकीले तालिमका लागि बोलाउँछ । सरकारले अनुमति दिन्छ । उनीहरुलाई उनीहरुकै स्वार्थका लागि कोचिङ पढाउँछ । आतेजाते चीलगाडी खर्च, तारे होटलको बसाइ, पकेट खर्चसमेत पाउँदा मख्ख नपर्ने कुरै भएन । निजामति मात्रै होइन, सुरक्षाका सबै अंगसमेत छनौटित हुन्छन् । यसका स्वार्थको आयतन त म अनुमान मात्रै गर्न सक्छु । यी तालिम र कोचिङ मुलुकको हितमा पटक्कै हुन्नँ यत्ति हो । यी कृत्य सब बन्द हुन्छ कि हुन्नँ ? दुतावास धाएर मासिक वेतनसमेत लिने गरेका कुरा खुलेका छन् । योभन्दा ठूलो घात मुलकका लागि अर्को के हुनसक्ला ? यो धोकाधडी बन्दमात्रै हाइन, दण्डनीय हुन्छ कि हुन्नँ ? अनुदानभित्रका स्वार्थ केलाइन्छ कि केलाइन्नँ ? मुलुकको स्वार्थ मिल्दैन भने जति ठूलो आयतनको अनुदान भए नि लिन्नँ भन्ने तागत छ कि छैन ? हो, छिमेकी भारत यतिबेला सरकार, राजनीतिक दलभित्रका विरोधले भन्दा पनि जनस्तरमा पुगको आक्रोशको विरोधले आत्तिएको छ । उसको घिनलाग्दो कुकृत्यको पर्दाफास भएर बहुलाएको छ । व्यक्तिका चरित्रहत्यामा उत्रिएको छ । यसबाट प्रस्टै हुन्छ कि भारत कति कमाजोर रहेछ । काँतर र निर्लज्ज रहेछ ? उसँग खुलाछाती देखाउर उभिन, तर्क, बहस र अन्तक्र्रिया गर्ने नैतिकबल एक फुट्टि पनि रहेनछ । यतिबेला हाम्रो राष्ट्रियता, स्वाभिमान र मातृभूमिको रक्षार्थ कम्मरमा पटुकी कसेर शिरमा कफन बाँध्नुपर्ने बेला आएको छ । हामीलाई छिमेकीले हेप्दै आएको थियो, त्यो हेपाइ यतिबेला चरम अवस्थामा छ । अर्काको दास बनेर गुलामीमा बाँचेकाले अरुलाई गुलामीमै बाँचोस् भन्ने उसको मनसाय हो । त्यसका लागि हामीले विगत लामो समयदेखि उसलाई हाम्रो छातीमा खेल्न दियौँ, चल्न दियौँ । मालिक बन्न दियौँ । सीमा मिच्दा, थिच्दा, पेल्दा, नागरिकहरु नाङ्गेझार हुँदा, कुटिँदा, लुटिँदा हाम्रा आवाज न संसदमा उठे न सरकारले उठाइए । अब त्यो बिलकुल रोकिनुपर्छ ।
छिमेकीले आफ्नो मिचाहा प्रवृत्तिको कालो अनुहार पराकाष्ठमा देखाएपछि हाम्रा चेत फेरिनुपर्छ । बोली बदलिनुपर्छ । सोच सच्चिनुपर्छ । मुलुकको हितमा शिर उँचो पारिनुपर्छ । जो कोही व्यक्ति, दल, नेता वा नागरिकबिच रेखाङ्कन हुनुहुँदैन । एउटै रेखा र घेरामा हुनुपर्छ त्यो हो
नेपाली ! यत्ति हुँदा त्यो कुकृत्यका रासमा उभिएको मिचाहा साँढे रुपी शाषक ढल्छ र दुई मुलुक तथा नागरिकबिच समताको सम्बन्ध कायम
हुन्छ । अब हाम्रा दलका एजेन्डा, राजनीतिक धरातल र सरकारका प्राथमिकतामा एक सय असी डिग्रीको परिवर्तन खोजेका छन् नागरिकहरुले । त्यसको प्रत्याभूत महसुस हुने गरी नागरिकसामु आउनुपर्छ । विगतको राजनीतिक फोहोरी धरातल सफा गर्ने र उप्रान्त नदोहोरिने विश्वसनीयता गरिनुपर्छ । सार्वभौमिकताको अक्षुणताको आधारशीला हुनुपर्छ । निश्चय नै सरकारका पछिल्ला गतिविधिले केही आशा जगाएको छ । दुरगामी निर्णय गरिएका छन् र, यसलाई अझ व्यापक दायरामा लैजानुपर्छ । हाम्रा खजनालाई बजबुत पार्दै अन्तर्राष्ट्रकरण गरिनुपर्छ ।
लडाइँ जीत्न हतियार भनेको नैतिक बल नै हो, जो भुत्ते थियो अब अर्जाप्नु पर्छ । मानसिक रुपमा उद्याएर सशक्त पार्नुपर्छ । उसको मिचाहा प्रवृत्ति, वैरभाव र मालिक्याइँको विरुद्ध कुनै शस्त्रअस्त्र जरुरत पर्दैन । त्यो हाम्रो गर्विलो विरासतले नै ढाल्न सक्छौँ । राज्य र सरकार
बलियो खुट्टा टोकिदिए पुग्छ ।
समस्याको पोको छिमेकी भारतसँग त हुँदै हो, त्योभन्दा गुह्य गन्धको पोको बोक्न हामी आफैँले छोड्नुपर्छ । मात्तिएको छिमेकी साँढेसँग लड्ने
लडाइँको जीत यसैमा निर्भर हुन्छ । यो स्वाभिमानको लडाइँ अन्तिम हुनुपर्छ ता कि फेरि जिस्किने आँट पनि गर्न नसकोस् । त्यो विशाल छाती हाम्रै पूर्खासँग थ्यो, छ, र, हामीले मनन् गर्दै देखाउने बोला आएको छ ।