तम्घास – गुल्मी, मदाने गाउँपालिका –६ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको पिसिआर रिपोर्टमा ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
मदानेका ४१ वर्षीय शिक्षकमा यही जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालयले प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । तीमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
शनिबार रिपोर्ट आएका पाँचमध्ये बैंक कर्मचारी एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पनि कहाँ र कसरी लाग्यो भन्ने थाहा हुन सकेको छैन ।
निको भएर बुटवल अस्पतालबाट फर्किए दश संक्रमित !
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए । “उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भने । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।
भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भने, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”
बुटवलकोे कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युुवक निको भएर घर फर्किएका थिए । शुक्रबार बाँकेको खजुुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए ।