वीरगञ्ज । एक ७० वर्षीय वृद्धलाई मृत्यु भएको नवौं दिनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृत्यु भएर सद्गद् गरेर मृत्युको काजक्रिया सकिने बेलामात्रै कोरोना पुष्टि भएपछि उनको गाँउमा सन्त्रास देखिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा उपचार गरिरहेका बारा कलैया उपमहानगरपालिका–७ निवासी ति वृद्धको जेठ ४ गते निधन भएको थियो । कोभिड–१९ संक्रमणको आंशकामा पीसीआर जाँचको लागि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट नआउदै अस्पतालले मृतकको शव परिवारलाई जिम्मा लगायो । शव लिएर मृतकका आफन्तसहित करिव ५० जनाको मलामी समेत गएर सद्गद् गरे । नवौं दिनका दिन कोरोना संक्रमण पुष्टि भएपछि सो गाँउमा अहिले खैलाबैला छ । मानिसहरु अन्यौलमा छन् कतिलाई सर्यो वा के भयो भनेर ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारको क्रममा निधन भएर र सोमबार कोरोना पुष्टि भएको बताए । मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो । ति व्यक्तिको चौथो पटकको परीक्षणमा मात्र कोरोना भएको पुष्टि हुन आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।
नारायणीको ल्याब र काठमाडौंमा दुई÷दुई पटक परीक्षण गर्दा ढिलाइ हुन पुगेको स्रोतले बताएको छ । नारायणीमा निकै चापले तीन दिन लागेको थियो । त्यहाँ शंकास्पद नतिजा देखिएपछि काठमाडौंमा पुनःपरीक्षण गराउँदा रिपोर्ट ढिलागरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । संक्रमित जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात ४ गते उनको मृत्यु भएको हो ।
यसैबीच, पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको सो अस्पतालमाथि थप अनुसन्धान एवं कारबाही गर्ने जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । घटनामा थप छानबिन एवं कारबाही प्रक्रिया अघि बढाउन संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
कोरोना पोजेटिभ देखिएका मृतकको सम्पर्कमा आएका उक्त कलेजका स्वास्थ्यकर्मीलगायत अन्य सबै व्यक्तिहरुको कनट्याक्ट ट्रेसिङ गर्ने र उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी लगायत संलग्न सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी पीसीआर चेकजाँच गर्ने निर्णय पनि बैठकले गरेको छ । नेशनल मेडिकल कलेजले मृतकको उपचार गरेको कक्ष तत्काल सिल गर्ने समेत संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको सहायक प्रजिअ बस्नेतले जनाए । यो घटना समेत गरेर कुल चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।