काठमाडौँ – टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।
टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।
धापाखेलमा मानव सेवा आश्रम
ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख्या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास गरिएको हो ।
ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल र महानगरपालिकाका उपप्रमुख गीता सत्यालले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गरे। यस चालू आर्थिक वर्षमा सांसद विकास कोषबाट आश्रम निर्माणका लागि रु १० लाख विनियोजन भएको भुषालले बताइन् । उपप्रमुख सत्यालले आश्रम निर्माणमा महानगरपालिकाले साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गरिन्।
सेवा आश्रम ललितपुरका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले आश्रमको भवन आधुनिक, सुविधासम्पन्न, छकोठे र दुई तलाको निर्माण हुने जानकारी दिए । उनले भने, “फलामको पिलरमाथि चार भित्तामा सिमेन्ट बोर्ड प्रयोग गरी एक हजार ८०० स्कवायर फिट क्षेत्रफलमा भवन निर्माण गर्न लागेका छौँ। यो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हुनेछ । ललितुरमा देखिने अनाथ, बेसहारा, परिचयविहीन, मनोरोगीलाई ध्यानमा राखी आश्रमको भवन निर्माण गर्न लागेका हौँ ।”
आश्रम निर्माणमा रु ५० लाख खर्च हुने अनुमान गरिएको पौडेलले जानकारी दिए।