“भारतले नेपाललाई टरेको देखिएन, अन्तर्राष्ट्रिय अदालत जानै पर्छ”

काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले कालापानी-लिपुलेक विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्ने क्रममा गजुरेलले सीमाविवादको विषयमा वार्ता गर्न भारतले आनाकानी गरिरहेको हुँदा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका हुन्।

ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै रहेको हुँदा नेपाल अन्तर्राष्ट्रिय अदालत हेग जानुपरे पनि पछाडी हट्न नहुने उनको तर्क छ।

“मापदण्डलाई मान्ने अनुशासन त हुनुपर्यो । नत्र कसरी जबर्जस्ती हामीले मनाउने त । अब वार्ता बस्न मान्दैमान्दैन भने अन्तर्राष्ट्रिय अदालत हेगमा जानुपर्छ । अन्तर्राष्ट्रिय समुदायसँग हारगुहार गर्नुपर्छ ।”,अन्तर्वार्तामा उनले भनेका छन्। बारम्बार वार्ताको लागि आग्रह गर्दा पनि नमान्नु भनेको भारतले नेपाल सरकारलाई नटेरेको हुन जाने उनको बुझाई छ।

“अब भारतले वार्ता गर्नै मानेन भने के गर्नु ? अन्तर्राष्ट्रिय अदालतमा जानैपर्छ नि । भारत आउँदैआउँदैन अनि के ? हामीले दिल्लीबाट बोकेर ल्याएर हुँदैन । हामी एक्लै त्यहाँ गएर पनि सम्भव भएन । भनेपछि यो सरकारलाई त भारतले टेर्दैटेरेन नि । वार्ता गर्नै मानेन । अनि कति प्रतिक्षा गरेर बस्ने ? अब कति पसखेर बस्ने ? त्यसकारण हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने बेला आयो भन्ने लाग्छ ।”,अन्तर्वार्तामा थप उनी भन्छन्।

१९६२ देखि अहिलेसम्म आफ्नो सेनालाई राख्न दिएकोमा भारतले नेपाललाई धन्यवाद दिँदै फिर्ता हुनुपर्ने उनको भनाई छ।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७०७:३५

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान