बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल !

बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ ।

बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पुर्याउने काम गर्दै आएका थिए ।

नगरपालिकामा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

बन्दाबन्दीले वाग्मतीको पानी स्वच्छ बनाउने योजना प्रभावित

बन्दाबन्दीले उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको काम प्रभावित भएको छ ।

धाप बाँधको भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भए पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैतदेखि नै काम बन्द भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । बाँधमा काम गर्ने भारतीय मिस्त्री बन्दाबन्दीमा घर गएपछि नफर्किएका कारण काम हुन नसकेको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिए।

नेपाली मिस्त्रीले गर्न नसक्ने प्राविधिक काम भएकाले बन्दाबन्दीमा घर गएका कामदारका कारण प्रभावित भएको हो । धापमा बाँधको काम असार दोस्रो सातासम्म मात्र गर्न सकिन्छ । असार दोस्रो सातापछि वर्षात्का कारण काम गर्न सकिँदैन । कात्तिकपछि मात्र फेरि धाप बाँधको काम गर्न सकिन्छ । आयोजनाको हालसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

एशियाली विकास बैंकको करिब रु ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध गत वैशाखमै सक्ने लक्ष्य भए पनि बन्दाबन्दीका कारण अलपत्र बनेको हो । चौबीस मिटर उचाइको बाँधमा वर्षात्मा परेको पानी जम्मा गर्ने योजना छ । गत वैशाखमै निर्माण सम्पन्न गरी आगामी वर्षात्मै बाँधमा पानी सङ्कलन शुरु गरी परीक्षण गर्ने योजना प्रभावित भएको छ । योजना प्रभावित हुँदा बाँधमा वर्षात्को पानी जम्मा गर्न एक वर्ष कुनुपर्ने भएको अधिकारसम्पन्न वाग्मती समिति सञ्चालक सदस्य राम साहले बताए।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७०८:३४

रहेनन् मकाउ क्यासिनोका बादशाह स्टान्ले…