क्वारेन्टाइन बनाउँदा बनाउँदै ढलेका वडाध्यक्षको अस्पताल नपुग्दै मृत्यु, कोरोना परीक्षणको तयारी !

काठमाडौँ – भारतबाट आउनेहरुलाई राख्ने क्वारेन्टाइनको व्यवस्था गर्दा-गर्दै कञ्चनपुरमा एक जनप्रतिनिधिको निधन भएको छ। क्वारेन्टाइनको व्यवस्था गर्दा-गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको मंगलबार राति निधन भएको हो। निधन हुनेमा वडाध्यक्ष कल्लु राना रहेका छन्।

राष्ट्रिय माध्यमिक विद्यालयमा क्वारेन्टाइनको निर्माण गर्दा-गर्दै उनी एक्कासि बेहोस भएको र केहि समयमै उनको मृत्यु भएको कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता रानाले जनाएकी छन्।

क्वारेन्टाइनको निर्माणकै क्रममा निधन भएका उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। पाेस्टमार्ट अगाडी कोरोना परीक्षणका लागि नमुना लिने अस्पतालको तयारी छ।

क्वारेन्टिनमा योगाभ्यास

झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ । नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो ।

कोरोनाको कहरसँगै लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनाबबाट अलग रहनसमेत सहयोग पुग्ने विश्वासका साथ योगाभ्यास सञ्चालन गरिएको बताइएको छ । पतञ्जली योग नगर समिति कनकाईले योगाभ्यासको सहजीकरण गरेको समितिका नगर अध्यक्ष टीकाप्रसाद जमरकट्टेलले बताए। अभ्यासका क्रममा स्वस्थ खानपान, योग व्यायाम, प्रणायमका साथै स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा जानकारी दिइने छ ।

क्वारेन्टिनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्माबल बढाउनका लागि योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ । भारतले लकडाउन खुकुलो पारेसँगै झापाका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका नेपालीको क्वारेन्टिन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख एवं नगरस्तरीय कोरोना सङ्क्रमण रोकथाम तथा विपद् व्यवस्थापन समिति संयोजक मञ्जु प्रसाईंले बताइन्।

प्रकाशित : बुधबार, जेठ १४, २०७७०२:११

पश्चिमरुकुम प्रकरण: २० जनाविरुद्ध किटानी जाहेरी !