आमाबुबा दुवैमा कोरोना देखिएका बालकको रिपोर्ट आयो !

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् ।

आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको छ ।

उनलाई दैलेखको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा राखिएको छ । बालक पनि उनकै साथमा रहेको छ । घरका आफन्तले उनलाई लिने वा सङ्क्रमित आमाबाबुसँगै बसाल्ने भन्ने विषयको अझै टुङ्गो लागेको छैन । उनीसँगै अन्य सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सबै भारतबाट आएका व्यक्ति क्वारेन्टिनमा भएकै बेलामा स्वाब सङ्कलन गरिएकाले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।

कर्णालीका पहिलो सङ्क्रमित दैलेखको आठबीस नगरपालिकाका एक युवालाई सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको भन्दै चर्को विरोधपछि उनलाई कोरोना अस्पताल सुर्खेत लगिएको भए पनि एकैपटक सात नयाँ सक्रमित देखिएपछि उनीहरुलाई सरस्वती माविमै उपचारका लागि राखिएको छ ।

पाल्पामा कोरोना किट अभाव

पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताए ।

पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा आइतबार आरडिटी तथा पिसिआरका लागि स्वाब संकलन गरिएको तर सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणका लागि गम्भीरता नदेखाएको भट्टराईको गुनासो छ । उनले भने, “परीक्षण नगरी स्थानीय तहको जिम्मा लगाउन बाध्य छौँ, जिल्लामा भयावह अवस्था आउँछ कि भन्ने चिन्ता छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ भट्टराईले जिल्लामा आएका नागरिकको परीक्षण गर्न किट अभाव रहेको स्वीकारे । उनका अनुसार अहिलेसम्म जिल्लामा आरडिटीका लागि एक हजार र पिसिआरका निम्ति साढे चार सयको हाराहारीमा किट रहेकामा अब आकस्मिक जाँचका लागि बाहेक पर्याप्त छैन ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञेश्वर पन्थीका अनुसार गत चैतदेखि अहिलेसम्म जिल्लामा आएका करीब ६०० जनामध्ये ५५१ जनाको आरडिटी तथा ७९ जनाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको छ । अब १७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर तथा नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पालीको उद्धार गरी जिल्लामा ल्याएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । पाल्पा आएका नागरिकलाई तानसेनमा स्थापित क्वारेन्टाइनमा राख्ने, आरडिटी र पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिए आइसोलेशनमा पठाउने र नेगेटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने व्यवस्था गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक मीरा मरासिनीले जानकारी दिए । स्थानीय तहमा लगेपछि पुनः १४ दिन क्वारेन्टाइनमा राख्ने तथा आरडिटी गरेर एक हप्ता होम क्वारेन्टिनमा बस्ने गरी पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण समिति पाल्पाको मङ्गलबार साँझ बसेको बैठकले प्रदेश र सङ्घीय सरकारसँग किट माग गर्ने निर्णय गरेको छ ।

प्रकाशित : बुधबार, जेठ १४, २०७७०६:३३

कोरोनाभाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो !