कोरोनाको आशङ्का गरिएका एकको मृत्यु !

सांकेतिक तस्विर

धनगढी – सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पुर्याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए ।

‘‘उहाँलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान मृत्यु भएको खबर आएको छ, डा पाण्डेयले भने, “कोरोनाको पोजेटिभ हो÷होइन भन्नेबारेमा यकिन हुन बाँकी छ ।” भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

उपचारका क्रममा शुरुमा उनलाई अस्पतालको आकस्मिककक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । कोभिड–१९को डेडिकेटेड अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको ‘कोरोना पोजेटिभ’ आइसोलेसन वार्डमा छ जना सङ्क्रमित उपचाररत छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

हेटौँडाको एक महिलामा कोरोना सङ्क्रमण

हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्र्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए। उनका अनुसार ती महिलाको हेटौँडास्थित कीटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए। ती महिलाको स्वास्थ्यावस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ ।

प्रकाशित : बुधबार, जेठ १४, २०७७१०:१३

भारतबाट आएका छ जनामा कोरोना सङ्क्रमणको पुष्टि !