काठमाडौँ – मंगलबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सर्वदलिय बैठक बस्यो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा एक भएर अघि बढ्न र संसदमा विधेयक दर्ता गरिसकेकाले सर्वसम्मत पारित गराउन आग्रह गरे।
सरकारले तत्कालै सो विधेयक अगाडी बढाउने चाहेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समय माग गर्यो। जसकारण बुधबार नै पारित गर्ने तयारी गरिएको विधेयक केही दिन पारित नहुने भयो।
तत्कालै पारित गर्ने भनिएको विधेयक रोकिएको देखेर भारतीय मिडियाहरु यति बेला खुसियाली मनाइरहेका छन्। अधिकांश मिडियाहरुले नयाँ नक्सा पारित गर्ने कदमबाट नेपाल पछि हटेको भन्दै समाचार सम्प्रेषण गरेका छन्।
केहि भारतीय मिडियाहरु भारतको चरम असन्तुष्टि पछि नेपाल पछि हटेको भनेका छन् भने केहिले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले नयाँ नक्साको प्रक्रिया रोकिदिएको भनेका छन्।
अर्णव गोश्वामी सञ्चालक रहेको रिपब्लिक टेलिभिजनके नेपाली कांग्रेस पछि हटेकाले नेपालको नयाँ नक्सा अड्किएको दावी गरेको छ। साथै उसले नेपालको नयाँ नक्सा रोकिँदा कूटनीतिकरुपमा भारतको जित पनि भयो भन्दै समाचार सम्प्रेषण गरेको छ।
भारतीय जनता पार्टी निकट अर्को च्यानल एनडिटिभीको अनलाइन संस्करणले पनि भारतको विरोध पछि नेपाल नयाँ नक्साबाट पछि हटेको दाबि गरेको छ। भारतीय टेलिभिजन आजतकले पनि भारतसँग उत्पन्न कूटनीतिक जटिलताका कारण नेपाल पछि हटेको उल्लेख गरेको छ।
यता टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले पनि नेपाल नयाँ नक्साबाट पछि हटेको उल्लेख गरेको छ। नेपाली कांग्रेस र मधेसवादी दलका कारण नेपाल नयाँ नक्साबाट पछि हटेको उसको दाबि छ।