ललितपुरमा कोरोनाबाट एक जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५ पुग्यो

सांकेतिक तस्विर

काठमाडौँ- कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। ललितपुर स्थित किष्ट अस्पतालमा उपचाररत एक संक्रमितको बुधबार ज्यान गएको हो।

ज्यान गुमाउनेमा ललितपुर महानगरपालिका-२२ बुङमतीका ५७ वर्षीय पुरुष रहेको बताइएको छ। यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय ललीतपुर प्रमुख डा. खगेश्वर गेलालले उपचारको क्रममा किष्ट अस्पतालमा निधन भएका ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको गेलालले बताए।

ज्यान गुमाउने व्यक्ति कलेजोका पनि बिरामी रहेको बताइएको छ। अस्पतालमा भर्ना हुँदा देखि नै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनलाई शुरु देखि नै आइसियुको कक्षमा राखेर उपचार गरिएको किष्ट अस्पतालले जनाएको छ।

यस भन्दा अगाडी कोरोना भाइरस संक्रमणका कारण ४ जनाले ज्यान गुमाइसकेका छन्। यससभन्दा पहिले सिन्धुपाल्चोकमा २९ वर्षीया महिला, बाँकेमा २५ वर्षीय युवक, गुल्मीमा एकजना शिक्षक र बारामा ७० वर्षीय वृद्धले कोरोनाबाट ज्यान गुमाएका थिए।

बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ८६ पुगेको छ भने १८३ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित : बुधबार, जेठ १४, २०७७१६:३२

संविधान संशोधनबाट कांग्रेस पछि हटेको हल्ला चलेपछि मध्यराति देउवाको यस्तो ट्वीट !