बैतडी । सिमानाका भारतको झुलाघाटमा करिब ३सय नेपालिहरु अलपत्र परेका छन् । बिगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किन भनी आएकोमा सिमानाका बन्द हुँदा ओढारमा दिनरात कटाइ रहेका छन् । कसैकसैलाई भारतीय गाडीहरुले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । उनीहरु झुलाघाटमा पुग्ने बित्तिक्कै प्रहरीबाट लखेटिए, भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
बैतडीको दोगडाकेदार ४ का किसोर भण्डारीले भने, ‘हामीले खाना नखाएको ५ दिन भएको छ । ३ दिनसम्म झोलामा बोकेर ल्याएका बिस्कुटहरु खायौँ, अहिले बिस्कुट पनि सकियो । बजारमा १ जना पठाएर बिस्कुट किन्न खोजे व्यापारीहरुले हामीबाट पैसा लिन मान्दैनन् ।’ आफुहरु मध्ये धेरै व्यक्तिहरु १५–२० दिन हिँडेर आएको र यता आएर झनै बिचल्लीमा पर्दा आत्महत्या गर्छु समेत भनिरहेको उनले बताए ।
उनीहरुले आफूलाई चाँडो स्वदेश फर्काउन माग गरेका छन् । झुलाघाटमा गर्मी पनि अत्याधिक भएकाले आफूहरुलाई बस्न निकै असहज भएको पुर्चौंडी नगरपालिका ३ का प्रेमसिंह धामीले बताए । झुलाघाट पुगेर ५ दिनदेखि भोकै बसिरहेको बाजुराका देव सार्कीले बताए । बजरमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेहरुले लखेटन्े गरेको उनले बताए । उनले भने, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लट्ठी, हसिया लिएर लखेट्न आउँछन् ।’ केहि ब्यक्ति आढारबाट समेत लखेटिएको उनले बताए ।