काठमाडौँ – बिहिबार थप १५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। एकै दिन पुष्टि भएको यो संख्या हाल सम्मकै उच्च हो। यस भन्दा अगाडी सबै भन्दा धेरै बुधबार १ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।
बिहिबार १ सय ५६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म १ हजार ४२ जना संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेखमा ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जा ३, नवलपरासी, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुर १, बर्दियाका ३, बाँके १, झापाका २५, नवलपुरका १, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बुका १, बझाङका १, सुर्खेतका १३ संक्रमित थपिएका छन्।
यस्तै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १८७ पुगेको छ। प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १८७ पुगेको हो।
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् ।
घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको छ।