काठमाडौँ – नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ। बिहिबार राति विज्ञप्ति जारी गर्दै नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको हो।
जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको नेपाली र अंग्रेजी भाषाको विज्ञप्तिमा भारतीय हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित खबरको खण्डन पनि गरिएको छ।
“उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ।”,विज्ञप्तिमा भनिएको छ।
हिन्दुस्तानटाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्कस्, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार दिएको थियो। जसको खण्डन गर्दै बिहिबार नेपाली सेनले विज्ञप्ति जारी गरेको हो।
साथै सेनाले राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यसप्रकारका अफवाहहरूमा विश्वास नगर्न अनुरोध पनि गरेको छ।
“यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूुबाट समेत धारणा सार्वजनिकभईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।”, विज्ञप्तीमा भनिएको छ।