काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले टिस्टादेखि सतलजसम्मको भूभाग समावेश गरेर नेपाल सरकारले नक्सा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
भारतले अतिक्रमण गरेका भूभाग फिर्ता गराउने अभियानमा लामो समय देखि सक्रिय रहेका अध्यक्ष फणिन्द्र नेपालले सामाजिक संजाल मार्फत नेपाल सरकारलाई टिस्टादेखि सतलजसम्मको भूभाग समावेश गरेर नक्सा सार्वजनिक गर्न सुझाव दिएका हुन्।
“सुगौली सन्धि पुनर्जीवित हुननसक्ने गरी रद्द भइसकेको हुँदा सुगौली सन्धिलाई आधार मानेर जारी गरिएको नेपालको संशोधित नक्सा (प्रकाशन) को परिस्थितिजन्य स्वागत गरे पनि यसैमा सन्तुष्ट भएर बस्नु कायरता होइन र ? नक्सा त नेपाल सरकारले टिस्टादेखि सतलजसम्मको प्रकाशित गर्नुपर्छ ।”,फेसबुकमा उनले भनेका छन्।
सुगौली सन्धि पुनर्जीवित हुननसक्ने गरी रद्द भइसकेको हुँदा सुगौली सन्धिलाई आधार मानेर जारी गरिएको नेपालको संशोधित नक्सा (प्रकाशन) को परिस्थितिजन्य स्वागत गरे पनि यसैमा सन्तुष्ट भएर बस्नु कायरता हुन जाने उनको तर्क छ।
सन् २०१९ को मार्च १५ मा जेनेभास्थित संयुक्त राष्ट्रसंघमा आफूले करिब ६०००० वर्ग किलोमिटर नेपाली भूभागमा भारतले सन् १९४७ अगस्त १५ देखि कब्जा जमाएर औपनिवेशिक शासन चलाउँदै आएको उल्लेख गरिसकेको हुँदा ग्रेटर नेपालको विषय संयुक्त राष्ट्रसंघको अभिलेखमा दर्ता भइसकेको पनि उनले फेसबुकमा उल्लेख गरेका छन्।