काठमाडौँ – शनिबार बेलुका काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। शनिबार बेलुका ९ बजेर ३६ मिनेट जाँदा जाँदा काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाहरुमा भूकम्पको महशुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। उक्त भूकम्प ४ दशमलव ८ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनायो। भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको बताइएको छ।
यस भन्दा अगाडी जेठ ८ गते भक्तपुरलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो भने जेठ १३ गते मुगुलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो।
विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।